राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीच एकता सम्बन्धी सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बा्लेन्द्र शाह (बालेन) बीच बहुदलीय एकता सम्बन्धी सहमति भएको छ। समानता, सुशासन, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतालाई केन्द्रमा राख्दै दुवै पक्षबीच लिखित सहमति भएको हो।

सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध नागरिक तहबाट भएको आन्दोलनको भावना आत्मसात गर्दै, युवाशक्ति र नागरिकको अपेक्षाअनुसार राजनीतिक परिवर्तनलाई अघि बढाउने प्रतिबद्धता जनाइएको छ। २०८२ साल भदौं २३ र २४ गते काठमाडौंमा सम्पन्न नागरिक आन्दोलन तथा विभिन्न पक्षको बलिदानलाई प्रेरणाका रूपमा लिँदै साझा लक्ष्य हासिल गर्ने उल्लेख गरिएको छ।

सहमति अनुसार बहुदलीय एकता पश्चात् गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ। दलको झण्डा, चुनाव चिन्ह घण्टी तथा केन्द्रीय कार्यालय काठमाडौंमै रहने उल्लेख छ। रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति गरिएको छ।

साथै, पार्टीको संगठनात्मक संरचनालाई थप सशक्त र फराकिलो बनाउँदै युवा अभियन्ता, अनुभवी विज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समुचित समायोजन गर्ने, योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख गरिएको छ।

यस सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। लोकतान्त्रिक सुशासन, सामाजिक न्याय र समुन्नतिको मुद्दा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई समेत सहकार्यका लागि आह्वान गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.