ललितपुर । ललितपुर महानगरपालिकाको आठौँ नगरसभा (हिउँदे नगरसभा) आइतबार सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को हालसम्म पुँजीगत खर्च २४ प्रतिशतमा सीमित रहेको विषय प्रमुख रूपमा उठेको छ, जसले महानगरको विकास खर्च अपेक्षाअनुसार अघि बढ्न नसकेको संकेत गरेको छ।
नगरसभाको उद्घाटन सत्रमा महानगर प्रमुख चिरिबाबु महर्जनले जेन–जी प्रदर्शन र प्रतिनिधिसभा निर्वाचनका कारण विकास बजेट कार्यान्वयनमा अवरोध आएको बताए। निर्वाचन आचारसंहिता लागू हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका योजना र कार्यक्रम सम्पन्न गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।
पुँजीगत खर्च नै विकास प्रगतिको मुख्य सूचक भएको उल्लेख गर्दै महर्जनले अघिल्ला वर्षको अनुभवअनुसार आर्थिक वर्षको पछिल्लो छ महिनामा खर्चको गति बढ्ने दाबी गरे। जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयकै कारण ललितपुर महानगरले अन्य स्थानीय तहको तुलनामा सकारात्मक छवि बनाएको उनको भनाइ थियो।
उपप्रमुख मंजली शाक्य बज्राचार्यले नागरिकको मौलिक हक र दैनिक आवश्यकतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन आचारसंहिता लागू हुनु अघि नै नागरिक सरोकारका कामलाई तीव्रता दिन आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरै विकास योजना कार्यान्वयनको चरणमा रहे पनि भुक्तानी प्रक्रिया सम्पन्न नभएकाले पुँजीगत खर्च कम देखिएको स्पष्ट पारिन्। बाँकी छ महिनामा खर्च उल्लेख्य रूपमा बढ्ने र नागरिकको जीवनस्तर सुधारसँग जोडिएका योजनालाई प्राथमिकता दिइने उनले बताइन्।
