ललितपुर । नेकपा एमाले ललितपुर जिल्लाका नेता सरोज सिंह डङ्गोलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीति फागुन २१ गतेपछि पूर्ण रूपमा समाप्त हुने कडा चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा डङ्गोलले ओलीको घृणित स्वभाव, तानाशाही सोच र चरम दम्भका कारण एमाले आज गहिरो राजनीतिक सङ्कटमा फस्दै गएको दाबी गरे।
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का नेता डङ्गोलले हाल एमालेबाट जसरी पनि टिकट हात पारेका उम्मेदवारहरूलाई “ओलीका अन्ध समर्थक र दास”को संज्ञा दिँदै उनीहरूसँग जनताका सवालमा बोल्ने कुनै हैसियत नरहेको आरोप लगाए। उनका अनुसार ती उम्मेदवारहरू एजेन्डाविहीन छन् र चुनाव जित्ने नाममा केवल ओलीलाई शक्तिशाली बनाउने काममा मात्र सीमित छन्।
डङ्गोलले ललितपुरका एमाले उम्मेदवारहरू जनताको समस्या बोकेर मैदानमा उत्रनुको साटो रोइलो, गुनासो र शक्ति केन्द्र चाकडीमै व्यस्त रहेको आरोपसमेत लगाए। “ओलीको दास बनेर ओलीलाई बलियो बनाउने र चास्नी खाने बाहेक उनीहरूसँग कुनै राजनीतिक लक्ष्य छैन,” डङ्गोलको कडा टिप्पणी थियो।
साथै, उनले ललितपुर क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारको जमानत जफत हुने अवस्था स्पष्ट देखिएको दाबी गर्दै फागुन २१ पछि एमालेको वास्तविक राजनीतिक धरातल खुल्ने बताए।
नेता डङ्गोलको यो आक्रामक अभिव्यक्तिले निर्वाचन नजिकिँदै गर्दा ललितपुरको राजनीतिक तापक्रम थप चर्किएको छ।
