लागुऔषध गाँजा र चरेशसहित ९ जना नियन्त्रणमा

ललितपुर । ललितपुर महानगरपालिका–२३ हरिसिद्धि क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२।१०।१६ गते दिउँसो करिब २ बजे प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका सुमन खड्कालाई चेकजाँच गर्दा सेतो प्लाष्टिकको प्याकेटभित्र गाँजाबाट बनेको ‘पोल्याण्ड’ जस्तो देखिने लागुऔषध फेला पारेको थियो। प्रारम्भिक सोधपुछका क्रममा खड्काले उक्त पदार्थ हात्तिवनस्थित एक क्याफेबाट खरिद गरेको बताएका थिए।

उनकै बयानका आधारमा प्रहरी टोलीले ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित राकेश देउलाले सञ्चालन गरेको क्याफेमा खानतलासी गर्दा लागुऔषध गाँजा, नगद रकम तथा अन्य सामग्री बरामद गरेको हो। त्यसपछि क्याफे सञ्चालकका छोरा विकेश देउलासँग सोधपुछ गर्दा उक्त लागुऔषध परिवारले बाफलस्थित भाडाको फ्ल्याटबाट ल्याई बिक्री वितरण गर्दै आएको र थप लागुऔषध सोही फ्ल्याटमा लुकाइराखेको खुलासा भएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले विभिन्न स्थानमा छापा मारी ठूलो परिमाणमा लागुऔषध, नगद, मोबाइल, स्कुटर तथा डिजिटल तराजु बरामद गर्दै ९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई सम्मानित अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीः
– नगद रु. ६,४५,९३५
– पोल्याण्ड ३ के.जि. ४०० ग्राम
– गाँजा १४३ ग्राम
– चरेश १०८ ग्राम
– मोबाइल फोन १३ थान
– स्कुटर २ थान
– डिजिटल तराजु २ थान
– लागुऔषध प्याकिङका प्लाष्टिक झोला ९८ थान

नियन्त्रणमा परेकाः
ललितपुर, मकवानपुर, धादिङ र उदयपुर जिल्लाका विभिन्न स्थानका ९ जना रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागुऔषध कारोबार नियन्त्रणका लागि अभियानलाई थप कडा बनाइने छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.