ललितपुर — ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा काम गर्ने क्रममा पर्खाल भत्किँदा १ जनाको मृत्यु भएको छ भने ४ जना मजदुर घाइते भएका छन्।
मिति २०८२।१२।०८ बिहान करिब १०:१० बजे इट्टाभट्टाको पर्खाल अचानक भत्किँदा त्यहाँ कार्यरत मजदुरहरू च्यापिएका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरिएको थियो।
उद्धारपछि सबै घाइतेहरूलाई तत्काल उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा रुकुम घर भई हाल सोही इट्टाभट्टामा कार्यरत ५५ वर्षीया तिल्सरी खड्काको बिहान १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द गम्भीर घाइते भएकी छन्। उनको दुवै हात, खुट्टा तथा टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको छ।
यसैगरी, सल्यानकी २७ वर्षीया शान्ती कुवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्। उनीहरूको दुवै खुट्टा तथा हातमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
