लेखापढी व्यवसायीहरूमाथि अवरोधको विरोधमा सेवा बन्दको चेतावनी

ललितपुर । नेपाल व्यावसायिक कानुनी लेखापढी संघ (पाटन इकाइ समिति) ले लेखापढी व्यवसायीहरूमाथि भइरहेको अवरोधप्रति गम्भीर आपत्ति जनाउँदै आवश्यक परे सेवा बन्द गर्ने चेतावनी दिएको छ।

समितिले जारी गरेको सूचनामा प्रचलित कानुनअनुसार प्रमाणपत्र प्राप्त गरी सम्बन्धित निकायबाट अनुमति लिएर सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूलाई विभिन्न कार्यालयहरूमा बिना कारण प्रवेशमा रोक लगाउने तथा अपमानजनक व्यवहार गर्ने घटनाहरू बढ्दै गएको उल्लेख गरिएको छ। विशेषगरी ललितपुरस्थित मालपोत कार्यालय परिसरमा प्रहरी प्रशासनद्वारा गरिएको हस्तक्षेपप्रति समितिले कडा असन्तुष्टि जनाएको छ।

समितिका अनुसार यस्ता गतिविधिले व्यवसायीहरूको पेशागत अधिकार, मर्यादा र काम गर्ने स्वतन्त्रतामा प्रत्यक्ष असर परेको छ। यस विषयमा सम्बन्धित निकायसँग तत्काल समाधानको माग गरिएको छ।

साथै, समस्या समाधान नभएसम्म सम्पूर्ण लेखापढी व्यवसायी तथा भू–सेवा सञ्चालकहरूलाई विरोधस्वरूप सेवा बन्द गर्न आह्वान गरिएको छ। समितिले सदस्यहरूलाई एकजुट भई आन्दोलनमा साथ दिन आग्रह गर्दै, सूचना विपरीत कार्य गर्नेहरूप्रति समितिले जिम्मेवारी नलिने पनि स्पष्ट पारेको छ।

समितिले छिटो वार्ता र समन्वयमार्फत समस्या समाधान गर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.