लागू औषधसहित ५ जना पक्राउ, ट्रामाडोल क्याप्सुल र गाँजा बरामद

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ वैशाख २९ र ३० गते ललितपुर महानगरपालिका वडा नं. २३ र २८ क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा विभिन्न प्रकारका लागू औषध तथा सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल ललितपुर–२३ बस्दै आएका ४३ वर्षीय अनिल कुँवर, सुनसरी गढी गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुर–२८ बस्ने २१ वर्षीय गौतम शर्मा, ललितपुर महानगरपालिका–२८ नयाँबाटो बस्ने २८ वर्षीय रोहन पोडे, कैलाली टिकापुर नगरपालिका–२ घर भई हाल हरिसिद्धि बस्ने २४ वर्षीय अभिनव रावल तथा चितवन भरतपुर महानगरपालिका–२४ घर भई हाल महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने २८ वर्षीय सुमन विक रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ६८९ वटा, गाँजाजस्तो पदार्थ १८४ ग्राम, मोबाइल ६ थान, डिजिटल तराजु २ थान तथा नगद ५ हजार ५ सय २५ रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.