उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् । सरकारले प्रतिशोध साध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए ।

‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यपालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गरे । सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उनको भनाइ छ ।

‘जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्त्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ुस्टन्टु र सस्तो राजनीतिक खपतका लागि बदनियत पूर्वक गिरफ्तार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको भन्दै ओलीले यस्ता हर्कत तत्काल रोक्न चेतावनी दिए । उनले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिए ।

‘वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ—विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा सहभागी भएका बेला सोमबार पक्राउ गरिएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.