ललितपुर । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई लिएर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीचको विवाद थप चर्किएको छ।
फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा मेयर महर्जनले नेपाल सरकार र फिनिस कम्पनीबीचको सम्झौताका कारण स्थानीय तहले आफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्न नसकेको आशय व्यक्त गरेपछि सांसद तामाङले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिवाद गरेकी हुन्। यस विषयमा बैठकमै समेत तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको थियो।
तामाङले आफ्नो फेसबुक पोस्टमा मेयर महर्जनको भनाइ उद्धृत गर्दै प्रश्न गरेकी छन्, ‘फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न तपाईँहरूलाई कुन सरकारले रोकेको थियो त त्यो बेला मेयरहरूलाई?’
उनले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा एउटै राजनीतिक शक्तिको सरकार रहेको स्मरण गराउँदै त्यतिबेला नै फोहोर व्यवस्थापनको समस्या समाधान गर्न पहल किन नगरिएको भन्दै प्रश्न उठाएकी छन्।
तामाङले विशेषगरी बन्चरेडाँडा फोहोर व्यवस्थापनका लागि फिनल्यान्ड सरकारले उपलब्ध गराएको अनुदानको उपयोगबारे समेत प्रश्न गरेकी छन्। फोहोर प्रभावित बन्चरेडाँडाका स्थानीयवासी लामो समयदेखि समस्या झेलिरहँदा विगतका सरकारले प्रभावकारी रूपमा समस्या समाधान गर्न नसकेको उनको आरोप छ।
‘पहिला त केन्द्रमा, प्रदेशमा, स्थानीयमा तपाईँहरूकै सरकार थियो होइन?’ भन्दै तामाङले त्यसबेला सम्झौता र फोहोर व्यवस्थापनको विषयमा किन आवाज नउठाइएको भन्दै मेयरहरूलाई प्रश्न गरेकी छन्।
उनले बन्चरेडाँडाका फोहोर प्रभावित नागरिकको समस्या समाधानमा विगतका सरकारको भूमिकामाथि पनि जवाफदेहिता खोजेकी छन्।
यसअघि फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र विभिन्न स्थानीय तहका प्रमुखबीच भनाभन भएको थियो। विवाद चर्किएपछि तामाङ बैठकबाट बाहिरिएको समाचारसमेत सार्वजनिक भएको थियो।
फोहोर व्यवस्थापनको जिम्मेवारी, संघीय सरकार र स्थानीय तहबीचको अधिकारक्षेत्र तथा बन्चरेडाँडा क्षेत्रमा भएका पूर्वसम्झौता कार्यान्वयनको विषयमा विवाद बढिरहेका बेला तामाङको पछिल्लो अभिव्यक्तिले फोहोर व्यवस्थापनमा विगतका निर्णय र राजनीतिक जवाफदेहितामाथि पुनः प्रश्न उठाएको छ।
