ललितपुर । पाटन दरबार क्षेत्र तथा आसपासका सडकहरूमा आज मंसिर २१ गते, २०२५ डिसेम्बर ६ (शनिबार) का दिन ‘पाटन पाइलै पाइलामा’ नामक विशेष सवारीसाधनमुक्त दिवस (Vehicle-Free Day) मनाइने भएको छ। कार्यक्रम दिउँसो १ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।
यस दिन पाटनको ऐतिहासिक दरबार क्षेत्रका सडकहरू एकदिनका लागि खुला सार्वजनिक स्थलका रूपमा उपयोग गरिनेछ। पैदल हिँड्न, साइकल चलाउन, खेलकुद, कला, सांस्कृतिक कार्यक्रम, सामुदायिक गतिविधि र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने उद्देश्य कार्यक्रमको रहेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमका दौरान सडकमा कुनै पनि किसिमका सवारीसाधन प्रवेश गर्न नपाउने व्यवस्था रहनेछ। म्यापमार्फत देखाइएको मार्गमा स्ट्रीट म्युरलिज्म, इन्फोटेक एचआर क्याफे, सुदीप फोटोग्राफी लगायतका स्थानमा विभिन्न कलात्मक तथा सांस्कृतिक प्रदर्शनीहरू हुनेछन्।
आयोजक संस्थाहरूले सबै नागरिकलाई खुला सडकको अनुभव लिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न तथा समुदायबीचको सहकार्य बढाउन सहभागी हुन आग्रह गरेका छन्।
‘एक दिन सवारीमुक्त, स्वच्छ र खुला पाटन’ भन्ने नारासहित थालिएको यो अभियानलाई स्थानीय, युवा समूह, सामुदायिक संगठन तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूले समेत साथ दिएका छन्।
नेविगेशन पार्टनर Galli Maps रहेको यस कार्यक्रमको विस्तृत जानकारीका लागि पोस्टरमा समावेश गरिएको QR कोड स्क्यान गर्न सकिने व्यवस्था गरिएको छ।
पाटन महानगरभित्र खुला सडक, सुरक्षित सार्वजनिक स्थल र संस्कृतिक–सामुदायिक सहभागितालाई बढावा दिने उद्देश्यले यस कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ।


