ललितपुर । नेपाल उद्योग व्यापार महासंघ (FNIC) ललितपुर जिल्लाको दोस्रो जिल्ला अधिवेशन २०८२ आगामी वैशाख १५ गते आयोजना हुने भएको छ। अधिवेशन Revive Leisure Park, महालक्ष्मीस्थान, लगनखेल, ललितपुरमा सम्पन्न हुने महासंघले जनाएको छ।
‘राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय उत्पादन, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नारासहित अधिवेशन आयोजना गर्न लागिएको हो। अधिवेशनमा ललितपुर जिल्लाका उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत महासंघको जिल्ला कार्यसमितिको समीक्षा, भावी कार्ययोजना तथा नयाँ नेतृत्व चयन गर्ने एजेन्डा रहेको बताइएको छ। साथै, स्थानीय उद्योग, व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।
महासंघले जिल्लाका सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई अधिवेशनमा सहभागिताका लागि आह्वान गरेको छ।
