काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी छोड्न लागेको भन्ने सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूलाई खण्डन गर्दै आफू रास्वपामै रहने स्पष्ट पारेकी छन्। उनले ती अफवाह झुटा, कपोकल्पित र भ्रम सिर्जना गर्ने खालका रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै डा. कार्कीले रास्वपालाई वैकल्पिक मात्र नभई मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी बनाउने लक्ष्यसहित सुरुदेखि नै आफू सक्रिय रहेको उल्लेख गरेकी छन्। संगठन विस्तारका क्रममा आफू देशका ६० जिल्ला पुगेको र विदेशमा समेत प्रवास विभाग गठनमा भूमिका खेलेको उनको भनाइ छ।
‘मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी रास्वपा हो। त्यसैले पार्टीलाई अझ सुदृढ, विस्तारित, सक्षम र लोकतान्त्रिक बनाउन सधैं प्रयासरत छु,’ उनले भनिन्।
डा. कार्कीले पार्टीभित्र आफूले ललितपुर क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दर्ता गराइसकेको जानकारी दिँदै अबको निर्णय जनताको हातमा रहेको बताइन्। अन्त्यमा उनले पार्टी र देशप्रति प्रतिबद्धता दोहोर्याउँदै ‘जय घण्टी, जय ललितपुर, जय देश’ भनाइ व्यक्त गरेकी छन्।
