काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कार्यवाहक सरकारको मन्त्री पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपामा प्रवेश गरेको भोलिपल्टै खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
तर खरेलको ललितपुर–२ मा आकस्मिक प्रवेशले पार्टीभित्रै असन्तोष सिर्जना गरेको छ। यसअघि सोही निर्वाचन क्षेत्रबाट रास्वपाको उम्मेदवार बन्ने दौडमा बुद्धरत्न महर्जन थिए। महर्जनलाई पछि पार्दै खरेलले टिकट पाएपछि पार्टीको स्थानीय कमिटीमा असन्तुष्टि देखिएको बताइएको छ।
खरेलले ललितपुर–२ को टिकट पाएपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मन्त्री बन्नुअघि उनी नेपाली कांग्रेसका सक्रिय नेता थिए।
खरेलको पार्टी परिवर्तन र उम्मेदवारीलाई ललितपुर–२ को चुनावी प्रतिस्पर्धालाई थप पेचिलो बनाउने घटनाक्रमका रूपमा हेरिएको छ।
