गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरमा करार इन्जिनियर पदमा कार्यरत सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विष्टले सार्वजनिक पदको दुरुपयोग गर्दै वैधानिक आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको ठहरसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा सुवास विष्टले सार्वजनिक सेवामा प्रवेश गरेपछिको अवधिमा वैधानिक आयका स्रोतभन्दा धेरै खर्च तथा लगानी गरेको देखिएको छ। विभिन्न आम्दानी स्रोत देखाइए पनि ती आम्दानीले सम्पत्ति आर्जनको स्रोत पुष्टि गर्न नसकेको आयोगको निष्कर्ष छ।

अनुसन्धानबाट सुवास विष्टले कुल रु. १ करोड ७७ लाख १० हजार ५७६ रुपैयाँ ६३ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ। सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय तथा जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको हो।

त्यसैगरी, गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति लुकाउन तथा प्रयोग गर्न सहयोग पुर्‍याएको अभियोगमा प्रतिवादी सुवास विष्टका बुबा सुदर्शन विष्ट लाई समेत मुद्दामा प्रतिवादी बनाइएको आयोगले जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्ने कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने र भ्रष्टाचारविरुद्धको कारबाहीलाई अझ सशक्त बनाइने जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.