ललितपुर । ललितपुर महानगरपालिकाले Early Childhood Development (ECD) विषयको ६ महिने तालिमका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले चाँगुनारायण फाउण्डेशन र ECEC Innovation in Educationको सहकार्यमा चालु आर्थिक वर्ष २०८२/०८३ मा तालिम सञ्चालन गर्न लागेको हो।
फागुन २८ गते प्रकाशित सूचनाअनुसार महानगर क्षेत्रभित्र बसोबास गर्ने १८ वर्ष उमेर पूरा भएका र कम्तीमा १२ कक्षा उत्तीर्ण नागरिकले आवेदन दिन सक्नेछन्। तालिममा अधिकतम २० जना सहभागी छनोट गरिने र छनोट प्रक्रिया अन्तर्वार्तामार्फत गरिने जनाइएको छ।
इच्छुकले २०८२ चैत १२ गतेभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। आवेदनका लागि नागरिकता, शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट), बसोबास खुल्ने कागजात वा विवाह दर्ता प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ।
साथै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई विशेष प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ।
