ललितपुरमा हुण्डी कारोबार शंकामा ४ जना पक्राउ, ७ लाख ८८ हजार नगद बरामद

ललितपुर, चैत २३ — ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाट क्षेत्रबाट स्रोत नखुलेको नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मिति २०८२।१२।२३ गते दिउँसो करिब १:३० बजे उक्त क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा सडक किनारमा शंकास्पद रूपमा जम्मा भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ठूलो परिमाणमा नगद फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले जाँचका क्रममा एक जनाले बोकेको झोलाभित्र लुकाएर राखिएको एक हजार दरका नोटसहित जम्मा ७ लाख ८८ हजार रुपैयाँ बरामद गरेको छ। साथै, एक हजार रुपैयाँकै साइजमा काटिएको सेतो कागजका १६ बण्डलसमेत फेला परेको जनाइएको छ, जसले ठगी कारोबारको आशंका थप बलियो बनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ का ६० वर्षीय देवकुमार लामा, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–११ का ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सोही नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित भएको उनीहरूले स्वीकार गरेका छन्। साथै उनीहरू ठगी सम्बन्धी गतिविधिमा समेत संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.