ललितपुर । ललितपुर महानगरपालिका–४ वाग्डोलस्थित एक घरमा भएको ठूलो चोरी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२ चैत २६ गते दिउँसो करिब १ बजे राजेश खनालको घरबाट करिब रु. ७९ लाख १२ हजार ५०२ बराबरको सुनचाँदीका गरगहना चोरी भएको उजुरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विशेष सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न काठमाडौँ महानगरपालिका–२१ टेकु बस्ने ३२ वर्षीय अमन देउलालाई ललितपुर–४ बाट पक्राउ गरेको जनाएको छ।
यस्तै, चोरीका गरगहना खरिद गरी गलाउने कार्यमा संलग्न रहेको आरोपमा भारतको पश्चिम बंगाल घर भई हाल काठमाडौँ महानगरपालिका–२३ बस्दै आएका अर्पिता ज्वेलर्सका सञ्चालक ४७ वर्षीय स्वपन चक्रवर्तीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आफ्नै सुनचाँदी पसलबाट बरामद गरिएका दशीका सामानसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनालाई मिति २०८३ वैशाख २ गते ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
