ललितपुर, अवैध लागू औषधको खरिद–बिक्रीमा संलग्न ४ जना व्यक्तिलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूसँग ७५० थान Nitrazepam ट्याब्लेट र ८.५ किलोग्राम गाजा बरामद भएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग गोदावारीबाट खटिएको संयुक्त प्रहरी टोलीले महालक्ष्मी नगरपालिका वडा नं. ०८ लुभू बसपार्क र गोदावारी नगरपालिका वडा नं. ०२ पात्लेछापमा एकैसाथ छापामारी कारबाही गरेको हो ।
पक्राउ परेका को–को ?
प्रहरीले लामाटार, ललितपुरका पुरुषोत्तम चौलागाई (२४), सिनामंगल, काठमाडौं बासिन्दा तर मूलघर सिन्धुलीका अविषेक थापा (२५), मूलघर धनकुटा भई हाल ललितपुरकै महालक्ष्मी नगरपालिकामा बस्दै आएका सुनिल राई (२७) र गोदावारी नगरपालिका वडा नं. २ बासिन्दा सरोज सिलवाल (४४) लाई पक्राउ गरेको छ ।
के–के बरामद भयो ?
पक्राउ परेकाहरूसँग प्रहरीले Nitrazepam Tablets I.P. 10mg का ७५ पत्ता अर्थात् जम्मा ७५० ट्याब्लेट, ८.५ किलोग्राम अवैध गाजा र रू. २,१३५।– नगद बरामद गरेको छ ।
Nitrazepam नेपाल सरकारद्वारा नियन्त्रित श्रेणीमा राखिएको शामक औषधि हो । यसको अनाधिकृत ओसारपसार र बिक्री–वितरण लागू औषध नियन्त्रण ऐन अन्तर्गत दण्डनीय अपराध हो ।
थप अनुसन्धान जारी
पक्राउ परेका सबैलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एकैसाथ ठूलो परिमाणमा नियन्त्रित ट्याब्लेट र गाजा भेटिनुले यस क्षेत्रमा सङ्गठित लागू औषध सञ्जाल सक्रिय रहेको प्रहरीको अनुमान छ । थप संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताएको छ ।
स्रोत : जिल्ला प्रहरी परिसर, ललितपुर प्रकाशित : २०८३ बैशाख ९ गते
