ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो तथा वडा प्रहरी कार्यालय लगनखेल बाट खटिएको प्रहरी टोलीले लागूऔषध र धारिलो हतियार (खुकुरी) सहित ४ जनालाई पक्राउ गरेको छ।
मिति २०८३ वैशाख १४ गते ललितपुरका विभिन्न स्थानमा संकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध तथा खुकुरी फेला पारेर उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका–४ घर भई हाल ललितपुर बस्ने २९ वर्षीय गौतम कुमार चौधरी, मकवानपुर गढी गाउँपालिका–८ घर भई हाल महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३० वर्षीय दिपु गोले, झापा बिर्तामोड नगरपालिका–४ घर भई हाल महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने ३२ वर्षीय विनय उदास तथा ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने २९ वर्षीय रोजेश देउला रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ०.२३ ग्राम खैरो हेरोइन, ट्रामाडोल १०० ट्याब्लेट, नाइट्राजेपाम ३० ट्याब्लेट र एक थान खुकुरी बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत ललितपुर बाट ५ दिनको म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




