महालक्ष्मी नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने

ललितपुर — महालक्ष्मी नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने सम्बन्धी सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत उक्त तयारी कक्षा सञ्चालन गर्न लागिएको हो।

सूचनाअनुसार लोक सेवा आयोगको नायब सुब्बा (रा.प.अन प्रथम श्रेणी) तथा सहायक स्तर पाँचौं तहको पाठ्यक्रममा आधारित ३० दिने तयारी कक्षा सञ्चालन गरिनेछ। कक्षा २०८३ जेठ पहिलो सातादेखि सुरु गरिने जनाइएको छ।

महालक्ष्मी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित तोकिएको मितिभित्र निवेदन दिन सक्नेछन्। निवेदनका लागि सम्पर्क नम्बर, ठेगाना खुलाएको व्यक्तिगत निवेदन, कम्तीमा +२ वा सो सरह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि, नागरिकता वा बसोबास प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्ने उल्लेख गरिएको छ।

यसैगरी उमेर हद पुरुषका हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिलाका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। म्यादभित्र आवेदन नपुगेका तथा कागजात अपूर्ण भएका निवेदनलाई कक्षामा समावेश नगरिने सूचनामा उल्लेख छ।

नगरपालिकाले स्थानीय युवाहरूलाई लोक सेवा तयारीमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको जनाएको छ। थप जानकारीका लागि तोकिएको सम्पर्क व्यक्तिमार्फत बुझ्न सकिने बताइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.