पाटनको ऐतिहासिक पिम्बहाल पोखरी

ललितपुर । पिम्बहाल पोखरी पाटनको मुटुमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदामध्ये एक महत्वपूर्ण धरोहरका रूपमा परिचित रहेको छ। करिब १४औँ शताब्दीमा निर्माण भएको मानिने यो पोखरी आज पनि नेवारी सभ्यता, संस्कृति र समुदायको पहिचान बोकेर उभिएको छ।

स्थानीय किंवदन्तीअनुसार पोखरी लाखेहरूले निर्माण गरेको विश्वास गरिन्छ। एक कथाअनुसार गयाबजेको आदेशपछि लाखेहरूले रातारात पोखरी खनेका थिए भने अर्को कथामा लाखेको श्रीमतीलाई पानी ल्याउन टाढा जानुपर्ने समस्या भएपछि पोखरी निर्माण गरिएको उल्लेख छ। इतिहासकारहरूले भने मल्लकालमा पानीको अभाव समाधान गर्न पोखरी निर्माण गरिएको बताएका छन्।

पोखरी परिसरमा रहेको चण्डेश्वरी मन्दिर तथा प्राचीन अशोक स्तूप ले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व अझ बढाएको छ। परम्परागत नेवारी वास्तुकला, इँटाका घर तथा काठका कलात्मक झ्यालहरूले पिम्बहाल क्षेत्रलाई अझ आकर्षक बनाएका छन्।

वि.सं. १९९० सालको भूकम्प र २०७२ सालको गोरखा भूकम्पले पोखरी क्षेत्रमा ठूलो क्षति पुर्‍याए पनि स्थानीय समुदायको सक्रियतामा यसको पुनःनिर्माण तथा संरक्षण गरिएको थियो। वि.सं. २०२४ सालमा पोखरीलाई बजारमा परिणत गर्ने सरकारी योजना स्थानीय बासिन्दाको विरोधपछि रोकिएको थियो।

हाल पिम्बहाल पोखरी पाटनको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा संरक्षण र समुदायको एकताको प्रतीकका रूपमा स्थापित रहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.