काठमाडौं — त्रिपुरेश्वरमा बस आगलागीमा परी गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा गम्भीर घाइते भएका लामालाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
चिकित्सकका अनुसार आगलागीमा लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यात्रुहरू बसबाट ओर्लिएपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने देखिएको छ। आगलागीअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको विवरणसमेत सार्वजनिक भएको छ।
घटनाको वास्तविक कारण तथा घटनाक्रमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
