ललितपुर । सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय झमेल रक्स युवा समूह, झम्सिखेलको आयोजनामा छैटौँ संस्करणको ‘दशैँ खसी कप’ आयोजना हुने भएको छ।
ललितपुर महानगरपालिका–२ नम्बर वडा कार्यालयको विशेष सहकार्यमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ।
युवाबीच भाइचारा, आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने तथा युवालाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो। दशैँ पर्वलाई खेलकुद तथा सामाजिक गतिविधिसँग जोड्दै युवालाई सकारात्मक र रचनात्मक कार्यमा सहभागी गराउने आयोजकको लक्ष्य छ।
आयोजकका अनुसार प्रतियोगिता खेलकुदमा मात्र सीमित छैन। विगतका संस्करणबाट प्रतियोगिता सञ्चालनको खर्च कटाएर बाँकी रहेको रकम सामाजिक कार्यमा समेत परिचालन गर्दै आएको समूहले जनाएको छ।
दशैँ खसी कपमार्फत खेलकुदसँगै सामाजिक सेवा, स्थानीय सद्भाव र नेपाली संस्कृति तथा परम्परासँग युवापुस्ताको सम्बन्ध थप मजबुत बनाउने प्रयास भइरहेको आयोजकको भनाइ छ।
प्रतियोगिताको छैटौँ संस्करण सफल बनाउन आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ।

