ललितपुर — ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निःशुल्क विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पाटनका प्रमुख सम्पदा क्षेत्रबीच आवतजावत सहज बनाउने तथा वातावरणमैत्री सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले यस्तो सेवा सञ्चालन गर्न लागेको हो। महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार दसैँअघि नै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
प्रस्तावित सटल बस सेवा पुल्चोक र पाटनढोकाबाट सञ्चालन गरी पाटन दरबार स्क्वायर, महाबौद्ध, लगनखेललगायतका प्रमुख सम्पदा तथा पर्यटकीय क्षेत्रलाई जोड्ने तयारी गरिएको छ। विशेषगरी पाटन दरबार स्क्वायर भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने महानगरको योजना छ।
निःशुल्क विद्युतीय सटल बस सञ्चालनले पाटनका सम्पदा क्षेत्रमा सवारीसाधनको चाप घटाउनुका साथै वायु प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। महानगरले वातावरणमैत्री यातायातलाई प्राथमिकता दिँदै आगामी दिनमा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधन खरिद नगर्ने नीतिगत निर्णयसमेत गरेको जनाएको छ।
साझा यातायातको डिजिटल टिकटिङ तथा कमाण्ड एन्ड कन्ट्रोल सेन्टर सञ्चालनसम्बन्धी कार्यक्रममा महानगर प्रमुख महर्जनले ललितपुरमा निःशुल्क विद्युतीय सटल बस सञ्चालन गर्ने योजनाबारे जानकारी दिएका हुन्। सेवा सञ्चालनमा आएपछि पाटनका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबीचको पहुँच थप सहज हुने र ललितपुरको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
