बर्ड फ्लु संक्रमण देखिएपछि जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालयले सूचना जारी गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाको पत्रअनुसार चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएको जनाएको छ।

वडा कार्यालयद्वारा जारी सूचनामा सर्वसाधारण दर्शकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै साउन ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना अवलोकनका लागि बन्द गरिएको उल्लेख छ।

सूचनाअनुसार संक्रमणको जोखिमलाई ध्यानमा राख्दै चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो। साथै, बर्ड फ्लु रोगबाट सचेत रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

जावलाखेलस्थित सदर चिडियाखाना राजधानीका प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यमध्ये एक मानिन्छ। दैनिक रूपमा सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने यस चिडियाखाना बन्द भएसँगै अवलोकनका लागि जाने योजना बनाएका आगन्तुकहरू प्रभावित हुने भएका छन्।

सम्बन्धित निकायले संक्रमण नियन्त्रण तथा थप परीक्षणको कार्य अगाडि बढाइरहेको जनाएको छ। चिडियाखाना पुनः सञ्चालनबारे निर्णय संक्रमणको अवस्था मूल्यांकनपछि गरिने बताइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.