ललितपुर — काठमाण्डौं उपत्यका खानेपानि व्यवस्थापन बोर्डको स्वामित्वमा रहेको ललितपुर महानगरपालिका वडा नं. ९ अन्तर्गत बालकुमारीस्थित ३ रोपनी १३ आना २ पैसा जग्गा नेपाल विद्युत प्राधिकरण (नेविप्रा) लाई जीआईएस (GIS) सब-स्टेशन निर्माणका लागि उपयोग गर्न बैशाख १४ गते मन्त्रिपरिषदले निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको पहलमा उक्त जग्गा प्राप्तिको प्रक्रिया टुंगिएको बताइएको छ। काठमाडौं र ललितपुरको विद्युत वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन बालकुमारीमा उच्च क्षमताको जीआईएस सब-स्टेशन निर्माण गर्ने योजना थियो, तर जग्गाको अभावमा चार वर्षभन्दा बढी समयदेखि आयोजना अलपत्र परेको थियो।
एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्मित हुने यो सब-स्टेशन निर्माण कार्य सुरु गर्न बोलपत्र आह्वानको तयारी भइरहेको छ।
नेविप्राका अनुसार भक्तपुरको थिमिबाट भूमिगत प्रसारण लाइन बालकुमारीको जीआईएस सब-स्टेशनसम्म जोडिनेछ र त्यहाँबाट टेकुको सब-स्टेशनसँग लिंक गरिनेछ। यो आयोजना पूरा भएपछि आगामी पाँच वर्षमा बढ्दो विद्युत माग पूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैगरी, उक्त क्षेत्रमा खानेपानि बोर्डले स्थापना गर्ने फोहोरपानी प्रशोधन प्लान्टलाई नेविप्राले निःशुल्क विद्युत उपलब्ध गराउने सम्झौता पनि भएको छ। उक्त जग्गा नेविप्राले २५ वर्षका लागि उपयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।
