गोदावरी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

ललितपुर, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का तथा नगर प्रहरी इन्सपेक्टर उत्सव विष्टविरुद्ध अदालतको अपहेलना गरेको आरोपमा मुद्दा दर्ता भएको छ।

गोदावरी नगरपालिका–७ मा सञ्चालित मच्छिन्द्रनाथ मल्टिपर्पोज प्रालिले ललितपुर जिल्ला अदालतमा अदालतको अपहेलना सम्बन्धी निवेदन दर्ता गराउँदै उक्त मुद्दा अघि बढाएको हो। कम्पनीले अदालतबाट जारी भएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै मेयर महर्जन, प्रमुख प्रशासकीय अधिकृत खड्का र नगर प्रहरी इन्सपेक्टर विष्टलाई प्रतिवादी बनाएको छ।

निवेदनअनुसार ललितपुर जिल्ला अदालतले गत माघ ४ गते गोदावरी–७ मा विधिवत् रूपमा दर्ता भई सञ्चालनमा रहेको खानीलाई आवश्यक मापदण्ड पूरा गरी सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो। तर उक्त आदेशको कार्यान्वयन हुन नदिई नगरपालिकाका तर्फबाट अवरोध सिर्जना गरिएको कम्पनीको आरोप छ।

कम्पनीका तर्फबाट वारेस विष्णुहरि कोइरालामार्फत दर्ता गरिएको निवेदनमा नगर प्रहरीले खानीमा प्रयोग हुने उपकरणहरूमा ताल्चा लगाउने, चर्को जरिवाना असुल गर्ने तथा कर्मचारीहरूलाई डर–धम्की दिने कार्य गरेको उल्लेख गरिएको छ।

निवेदनमा प्रतिवादीहरूलाई प्रचलित कानून बमोजिम जनही १० हजार रुपैयाँ जरिवाना तथा एक वर्षसम्म कैद सजाय गर्न माग गरिएको छ।

यता गोदावरी–७ देविचौर क्षेत्रमा केदारप्रसाद तिमल्सिनाले सञ्चालन गरिरहेको उक्त खानीका कारण स्थानीय बासिन्दाले पहिरोको जोखिम बढेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्।

खानी सञ्चालक तिमल्सिनाले भने नगरपालिकाले समन्वय गरी खानी सञ्चालनको वातावरण बनाए स्थानीय बासिन्दाको जग्गा खरिद गरेर समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन्। अदालतको आदेशपछि खानी नवीकरण तथा सम्बन्धित करहरू समेत चुक्ता गरिसक्दा पनि नगरपालिकाबाट सञ्चालनमा अवरोध सिर्जना गरिएको उनको गुनासो छ।

उनले नगर प्रहरीले डोजर तथा सवारी साधनका विभिन्न उपकरणसमेत जफत गरेको दाबी गरेका छन्।

उक्त मुद्दाबारे अदालतले के निर्णय गर्छ भन्ने विषय अहिले सरोकारवालाहरूको चासोको विषय बनेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.