अनलाइन बुकिङबाट प्राप्त फोन नम्बरको दुरुपयोग गरी फोन र म्यासेजमार्फत दुर्व्यवहार गरेको आरोप, ललितपुर प्रहरीले अनुसन्धान अघि बढायो
ललितपुर, एक महिला सेवाग्राहीलाई अनलाइन राइड बुकिङपछि फोन नम्बरको दुरुपयोग गर्दै फोन तथा अश्लील सन्देश पठाई दुर्व्यवहार गरेको आरोपमा एक जना याङ्गो (Yango) चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार एक महिला सेवाग्राहीले याङ्गोमार्फत सवारी सेवा लिएपछि चालकले सेवाग्राहीको सम्पर्क नम्बर प्रयोग गरी पटक–पटक फोन गर्नुका साथै अश्लील र अपशब्दयुक्त सन्देश पठाई मानसिक दुर्व्यवहार गरेका थिए।
पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ स्थायी घर भएका ४१ वर्षीय शिव कुमार खड्कालाई पक्राउ गरेको जनाएको छ। उनी बा.प्र.०१–००२ ज ७९४८ नम्बरको सवारी साधनमार्फत याङ्गो सेवा सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका खड्कामाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीले अनलाइन राइड सेयरिङ सेवा प्रयोग गर्ने सेवाग्राहीलाई कुनै पनि प्रकारको दुर्व्यवहार, यौनजन्य उत्पीडन वा अशोभनीय व्यवहार भएमा प्रमाणसहित तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको छ।
