ललितपुर। जारी विश्वकप २०२६ को फाइनल खेललाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर ललितपुरले खेलप्रेमीहरूलाई संयमित र जिम्मेवार भएर खेल हेर्न आग्रह गरेको छ। खेलको उत्साहका बीच कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले सार्वजनिक सूचना जारी गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न सबैसँग सहयोग मागेको हो।
प्रहरीले सार्वजनिक गरेको सूचनामा खेल हेर्दा अरूलाई असर नपर्ने गरी शान्तपूर्वक बस्न, हो–हल्ला तथा झैझगडा नगर्न र हार–जितका नाममा पैसाको बाजी तथा अनलाइन बेटिङजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ।
त्यस्तै, खेल सकिएपछि अनावश्यक रूपमा मोटरसाइकल वा सवारीसाधनमा हुल बाँधेर ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गरी सवारी चलाउने तथा सार्वजनिक शान्ति भंग हुने गतिविधिबाट टाढा रहन पनि प्रहरीले सचेत गराएको छ।
प्रहरीले कानुनविपरीतका कुनै पनि गतिविधि भएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै त्यस्ता घटना देखिए वा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विश्वकप फाइनलजस्ता अन्तर्राष्ट्रिय खेलले उत्साह र मनोरञ्जन थप्ने भए पनि त्यसको उत्सव सभ्य, सुरक्षित र जिम्मेवार ढंगले मनाउनुपर्ने सन्देश यस सूचनाले दिएको छ। प्रहरीको यो अपिलले खेल संस्कृतिलाई मर्यादित बनाउन र सम्भावित अवाञ्छित घटनालाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
