ललितपुर मालपोतमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको छड्के, १४ कर्मचारी अनुपस्थित

लगनखेलस्थित मालपोत कार्यालयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले छड्के अनुगमन गर्दा कार्यालय प्रमुखसहित १४ कर्मचारी अनुपस्थित भेटिएका छन्।

गत साउन १९ गते बिहान ९ बजेपछि बेन सेवाग्राहीको रूपमा मालपोत कार्यालय पुगेका थिए। केही समय कार्यालयमा बसेर उनले विभिन्न शाखा र कर्मचारीका कार्यकक्षको निरीक्षण गरेका थिए।

अनुगमनका क्रममा अधिकांश कार्यकक्ष खाली देखिएपछि बेनले त्यसको भिडियोसमेत खिचेका थिए। करिब १२ सेकेन्डको उक्त भिडियो उनले तत्काल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावललाई पठाएको बताइएको छ।

बेनले छड्के अनुगमनका क्रममा आफ्नो परिचय भने खुलाएका थिएनन्।

कार्यालय प्रमुख छवि नेपालीले भने आफू कार्यालय जाने क्रममा बाटोमै रहेको बताएका छन्। उनका अनुसार अनुगमन भएको दिन १४ कर्मचारी बिदामा थिए।

नेपालीले कार्यालयको सेवा प्रवाहमा कुनै कमी नभएको दाबी गरेका छन्। उनले सेवाग्राहीलाई नियमित रूपमा सेवा दिइरहेको बताएका छन्।

बेनबाट प्राप्त भिडियोपछि भूमि व्यवस्था मन्त्रालयले उक्त सामग्री राष्ट्रिय सतर्कता केन्द्रमा पठाएको बताइएको छ। त्यसपछि सतर्कता केन्द्रले कार्यालय समयमा अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। कार्यालय प्रमुख नेपालीले आफूलाई समेत स्पष्टीकरण सोधिएको पुष्टि गरेका छन्।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका एक हजार पाँच सय ७७ सरकारी कार्यालयमा अनुगमन तथा छड्के गरिएको थियो।

त्यस क्रममा नौ हजार छ सय ९७ कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको थियो। यस्तै, तोकिएको पोसाक नलगाउने एक हजार चार सय चार कर्मचारी भेटिएका थिए।

केन्द्रले सोही अवधिमा ११ हजार एक सय एक कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखिपठाएको जनाएको छ।

सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.