ललितपुर । भारत सरकारको आर्थिक अनुदानमा ललितपुर महानगरपालिका वडा नं. १६ मा निर्माण सम्पन्न भएको श्री कुमारी छेँ तथा नयाँ कुमारी निवास भवनको भव्य उद्घाटन गरिएको छ।
भवनको उद्घाटन माननीय जगदीश खरेल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गरेका हुन्।
ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको कुमारी परम्पराको संरक्षण र निरन्तरताका लागि नयाँ भवन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनले स्थानीय मौलिक संस्कृति, परम्परा तथा सम्पदा संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, संस्कृति तथा सम्पदा क्षेत्रका व्यक्तित्वलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले ललितपुरको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षणका लागि यस्ता पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
ललितपुर महानगरपालिका वडा नं. १६ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। कुमारी छेँ तथा नयाँ कुमारी निवास भवनको निर्माणसँगै यहाँको सांस्कृतिक पहिचानलाई थप व्यवस्थित रूपमा संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
