ललितपुर । जग्गाको अंशबण्डासम्बन्धी लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको तथा लिएको आरोपमा ललितपुर महानगरपालिका–४ का वडाध्यक्षसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले भूमि प्रशासन कार्यालय, लगनखेलका कर्मचारी, वडाध्यक्ष तथा दुई लेखापढी व्यवसायीलाई प्रतिवादी बनाउँदै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार भूमि प्रशासन कार्यालयका नायब सुब्बा विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गासम्बन्धी काम गराइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेका थिए। आयोगको टोलीले सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालयका भूमि प्रशासन अधिकृत अर्जुन देव योङया र नवीनकुमार गोले, नायब सुब्बा मनोज पोखरेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदार नरेन्द्रबहादुर बस्नेत र भक्तबहादुर राना तथा सहायक कम्प्युटर अपरेटर इन्दु दाहालको समेत संलग्नता रहेको आयोगको दाबी छ। त्यस्तै, ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्कामाथि पनि घुस लेनदेनमा संलग्न रहेको आरोप लगाइएको छ।
आयोगका अनुसार प्रतिवादीहरूले मिलेमतोमा पुनः नापीबाट अद्यावधिक भएको जग्गाधनी स्रेस्तालाई भूमि अभिलेख सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक नगरी पुरानै विवरणका आधारमा अंश बुझेको भरपाई लिखत पारित गराएका थिए।
त्यसक्रममा नापी कार्यालयबाट प्राप्त विवरण लुकाउने, गलत लिखत तयार गर्ने तथा सरकारी अभिलेखमा हेरफेर र थपघट गरी सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगले ११ जनालाई प्रतिवादी कायम गरी तीन लाख रुपैयाँ बिगो निर्धारण गरेको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनअनुसार सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
