ललितपुर । ललितपुर जिल्लामा सञ्चालनमा रहेका मासु पसल, पशु वधस्थल तथा वधशालाले आगामी मंसिर १ गतेदेखि अनिवार्य सञ्चालन अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनसम्बन्धी जरुरी सूचना जारी गर्दै व्यवसायीलाई कानुनले तोकेका मापदण्ड पूरा गर्न निर्देशन दिएको हो।
उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आगामी मंसिर १ गतेदेखि उक्त ऐन कार्यान्वयन गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार ललितपुर जिल्लाभित्र सञ्चालित सम्पूर्ण मासु पसल, पशु वधस्थल तथा वधशालाले सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिनुपर्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारद्वारा जारी सूचनामा व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी मापदण्ड पूरा गर्न सम्बन्धित सबै सरोकारवालालाई सूचित गरिएको छ।
नयाँ व्यवस्था कार्यान्वयनसँगै मासु व्यवसाय सञ्चालनका लागि अनुमति तथा निर्धारित मापदण्ड पालना अनिवार्य हुनेछ। प्रशासनले कानुनबमोजिम व्यवसाय सञ्चालन गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।
मासु पसल तथा वधशाला सञ्चालनसम्बन्धी थप जानकारी लिन चाहने व्यवसायीले पशु सेवा कार्यालय, लगनखेल, ललितपुरमा सम्पर्क गर्न सक्नेछन्।
नयाँ व्यवस्थाले मासु व्यवसायलाई व्यवस्थित बनाउनुका साथै उपभोक्ताले स्वच्छ र सुरक्षित मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ।

