जिल्ला प्रशासन कार्यालय ललितपुरले तिहार तथा छठ पर्वका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।
कार्यालयले २०८३ कात्तिक २० गते जारी गरेको सूचनामार्फत नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्दै शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्लावासीलाई आग्रह गरेको हो।
प्रशासनले देउसी–भैलो कार्यक्रममा सहभागी हुँदा मादक पदार्थ सेवन नगर्न, होहल्ला तथा झैझगडा नगर्न र सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न निर्देशन दिएको छ।
त्यस्तै, ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, साउन्ड सिस्टम तथा बाजा प्रयोग नगर्न र अस्पताल, विद्यालय, स्वास्थ्य संस्था तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ।
कुनै घर, निजी आवास, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्नुअघि सम्बन्धित व्यक्तिको पूर्वस्वीकृति लिनुपर्ने तथा अनुमति नदिएको स्थानमा जबर्जस्ती देउसी–भैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य नगर्न पनि प्रशासनले सचेत गराएको छ।
यसैगरी, पटाका, आतसबाजी, भुइँचम्पा, रकेटलगायत विस्फोटक तथा आगलागीको जोखिम हुने सामग्रीको प्रयोग, ओसारपसार, बिक्रीवितरण र भण्डारण नगर्न निर्देशन दिइएको छ।
प्रशासनले चाडपर्वको सांस्कृतिक महत्व कायम राख्दै सभ्य, सुरक्षित र व्यवस्थित रूपमा पर्व मनाउन ललितपुरवासीलाई अनुरोध गरेको छ।

